काठमाडौँ । मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका विभिन्न अभियानको प्रभाव देखिन थालेको छ । पछिल्ला केही वर्षयता प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत् चुहावट १.६१ प्रतिशतले घटेको हो । गत आवको साउन र भदौमा २२.५६ प्रतिशत रहेको चुहावट चालु आवको सोही अवधिमा २०.९५ प्रतिशतमा झरेको छ ।
चालु आवको साउनमा २०.०९ प्रतिशत र भदौमा २१.७६ प्रतिशत विद्युत् चुहावट भएको थियो । गत आवको साउनमा २५.६७ प्रतिशत र भदौमा २३.५२ प्रतिशत चुहावट रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतका अनुसार हुकिङ नियन्त्रण, ग्राहकको बिलिङ तथा मिटर रिडिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तनलगायतका कारण चुहावट घटाउन सहयोग पुगेको हो ।
वितरण केन्द्रमध्ये बाराको सिमरामा सबैभन्दा कम २.९४ प्रतिशत विद्युत् चुहावट भएको छ भने रौतहटको मौलापुरमा सबैभन्दा बढी ४७.७७ प्रतिशत चुहावट देखिएको छ । रौतहटको मौलापुर र गौर तथा सर्लाहीको मलङ्गवा क्षेत्रमा विद्युत् चुहावटको समस्या तुलनात्मक रूपमा बढी रहेको प्रमुख कुसियैतले बताए ।
औद्योगिक ग्राहकको सङ्ख्या बढी रहेकाले सिमरा वितरण केन्द्रमा विद्युत् चुहावट कम रहेको प्राधिकरणको भनाइ छ ।
दुई महिनामा ८ हजार ७८२ ग्राहकको लाइन काटियो
विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत चालु आवको पहिलो दुई महिनामा आठ हजार ७८२ ग्राहकको विद्युत् लाइन काटिएको छ । लाइन काटिएकामध्ये आठ हजार २३४ ग्राहकले बक्यौता भुक्तानी गरी पुनः विद्युत् जडान गराएका छन् ।
उनीहरूबाट रु २० करोड नौ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।
प्रमुख कुसियैतका अनुसार मिटरमार्फत विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले बक्यौता असुलीका लागि लाइन काट्ने अभियानलाई निरन्तरता दिइएको हो ।
गत आर्थिक वर्षमा ४२ हजार ६६४ ग्राहकको लाइन काटेर रु एक अर्ब ४७ लाख बक्यौता असुल गरिएको थियो ।
९९.९९ प्रतिशत घरधुरीमा विद्युत् पहुँच
प्राधिकरणका अनुसार मधेस प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक रहेका छन् । प्रदेशका ९९.९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी क्षेत्रमा पनि विद्युत् विस्तारको काम भइरहेको प्रमुख कुसियैतले बताए ।
प्रदेशका विभिन्न जिल्लामा हालसम्म करिब १० प्रतिशत सिँचाइको विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।




