गण्डकी । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिरोका कारण अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । सडकमार्ग सञ्चालनमा नआउँदा मुस्ताङ जाने यात्रुका लागि हवाई सेवा नै प्रमुख विकल्प बनेपछि उडानमा चाप बढेको हो ।
जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार उडान सङ्ख्या सीमित भएकाले यात्रुको चाप व्यवस्थापन गर्न कठिन भइरहेको छ । तारा र समिट एयरका ट्विनअटर जहाजले पोखरा–जोमसोम नियमित उडान गर्दै आएका छन् ।
‘दुवै जहाजले दैनिक पाँच–पाँच वटा उडान गर्दै आएकामा अहिले सात–सात वटासम्म उडान गरिरहेका छन्,’ शर्माले भने, ‘मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि हवाई यात्रुको चाप बढेको हो ।’
मुख्य पर्यटकीय यामसमेत भएकाले पोखरा–जोमसोम हवाई मार्गमा पर्यटकको आवागमन बढेको उनले बताए । दसैँको आसपास मुक्तिनाथ दर्शन तथा कागबेनीमा पितृतर्पणका लागि नेपाल तथा भारतबाट हिन्दु धर्मावलम्बीसमेत मुस्ताङ पुग्ने भएकाले यात्रुको चाप थप बढेको हो ।
एयरलाइन्स कम्पनीहरूले बिरामी तथा अशक्त यात्रुलाई प्राथमिकता दिँदै आएका छन् । विदेशी पर्यटक तथा बिरामी र अशक्त यात्रुको सहज यात्राका लागि स्थानीय प्रशासन तथा विमानस्थल कार्यालयले समेत सहजीकरण गरिरहेको शर्माले बताए ।
‘पर्यटकीय याम भएकाले यसै पनि पोखरा–जोमसोममा धेरै उडान हुने समय हो,’ उनले भने, ‘विपद्का कारण सडक अवरुद्ध भएपछि यात्रुको चाप थप बढेको हो । सडक खुलेपछि हवाई यात्रुको चाप पनि स्वतः घट्नेछ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार जोमसोममा दिउँसोको समयमा हावाहुरी चल्ने भएकाले अधिकांश उडान बिहानै गर्नुपर्ने अवस्था छ । दिनभर उडान गर्न सकिने भए यात्रुलाई थप सहज हुने भए पनि पोखरा–जोमसोम उडानमा मौसमका कारण त्यस्तो अवस्था नरहेको उनले बताए ।
उनका अनुसार अधिकांश उडान मध्याह्न १२ बजेअघि नै सम्पन्न गर्नुपर्ने हुन्छ ।
वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो । कम भिजिबिलिटीका कारण हरेक वर्ष वर्षायाममा यो हवाई सेवा प्रभावित हुने गरेको छ ।
यसैबीच, असोज ८ देखि ११ गतेसम्म भएको भारी वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक यातायात अवरुद्ध भएको छ । बाह्र दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अहिले पोखराबाट मुस्ताङ जाने यात्रुका लागि हवाई मार्ग नै मुख्य विकल्प बनेको छ ।






