काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ।
विभागले बिहीबार विज्ञप्ति जारी गर्दै श्रमिकलाई कानुनबमोजिम चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानको ध्यानाकर्षण गराएको हो।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
विभागका उपमहानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा कानुनले तोकेको सुविधा रोजगारदाता वा प्रतिष्ठानले उपलब्ध नगराएमा सम्बन्धित श्रमिक वा कामदारले उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ।
त्यसका लागि श्रमिकले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने विभागले जनाएको छ।






