मर्मतपछि ११ दिनमै राहुघाटबाट पुनः विद्युत् उत्पादन सुरु

म्याग्दी– बाढीका कारण क्षतिग्रस्त बनेको राहुघाट जलविद्युत् आयोजनाबाट मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले आयोजनाको विद्युत्गृह डुबानमा पर्नुका साथै महत्वपूर्ण संरचना तथा उपकरणमा क्षति पुगेको थियो। बाढीका कारण विद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाएपछि पानी कालीगण्डकी नदीमा निकास गर्ने टेलरेस गेटमा समेत क्षति पुगेको थियो। टेलरेसबाट विद्युत्गृहभित्र पानी पसेपछि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो।

विद्युत्गृहमा जम्मा भएको पानी हटाएर बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार सम्पन्न गरेपछि आयोजनाको एउटा युनिट सञ्चालनमा ल्याइएको हो। आयोजनाको २० मेगावाट क्षमताको एउटा युनिटबाट बिहीबारदेखि विद्युत् उत्पादन सुरु भएको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए।

‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ। अर्को युनिट पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने।

राहुघाट जलविद्युत् आयोजनामा २०/२० मेगावाट क्षमताका दुईवटा युनिट छन्। दुवै युनिटको कुल उत्पादन क्षमता ४० मेगावाट रहेको छ।

आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।