हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मी खाद्यान्न, खानेपानी र स्वास्थ्य उपचारको अभाव झेल्न बाध्य भएका छन् । नाका खुले पनि नेपालतर्फको सडकमा जमेको हिउँ नपन्छाइँदा घर फर्किन चाहने नागरिक थप समस्यामा परेका छन् ।

गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो । लामो समयदेखि हरियो सागसब्जी खान नपाएको स्थानीयवासी तथा सुरक्षाकर्मीले बताएका छन् । माछामासुको उपभोग पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षा चौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताए ।

उनका अनुसार नाका बन्द भएपछि खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । हिल्सामा बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी वा मेडिकलसमेत उपलब्ध छैन । सशस्त्र प्रहरी बलका एक जवानले सिएमए तालिम लिएको र उनीसँग उपलब्ध सामान्य औषधिको भरमा बिरामीको उपचार गर्नुपरेको सापकोटाले जानकारी दिए । विशेषगरी सिटामोलजस्ता सामान्य औषधिबाटै उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

नाका बन्द हुँदा हिल्सामा रहेका नेपाली नागरिकको आवतजावतसमेत प्रभावित भएको थियो । चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ जना नेपाली नागरिक नेपाल प्रवेश गरेका छन् । उनीहरूमध्ये केहीले हिउँ जमेको बाटो हुँदै फर्किनुपरेको छ । केही नागरिक पैदलमार्गबाट अघि बढिसकेका छन् भने चीनबाट ढिलो गरी नेपाल प्रवेश गरेका अन्य नागरिक शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा छन् ।

यता, नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम बुधबारदेखि मात्रै सुरु भएको छ । नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ हटाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ । तर, मेसिन सानो भएकाले दैनिक बढीमा एकदेखि दुई किलोमिटर मात्रै सडक सफा गर्न सकिने अवस्था छ ।

सडक सफाइको गति सुस्त हुँदा हिल्सामा रोकिएका नेपाली नागरिकको चिन्ता बढेको छ । यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपालीले हिल्साबाट पैदल यात्रा सुरु गरेका छन् ।

लामो समयदेखि बन्द रहेको सीमा नाका, सडकमा जमेको बाक्लो हिउँ, खाद्यान्नको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा हिल्सामा संकट गहिरिँदै गएको छ । चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा घर फर्किन चाहने नागरिकका लागि थप चुनौती सिर्जना भएको छ ।

स्थानीयवासी तथा सुरक्षाकर्मीले तत्काल प्रभावकारी रूपमा हिउँ पन्छाएर सडकमा यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । समयमै सडक खुलाउन नसकिए हिल्सामा खाद्यान्न तथा स्वास्थ्य उपचारको संकट थप गम्भीर बन्न सक्ने उनीहरूको चिन्ता छ ।

हाल हिल्सामा सशस्त्र प्रहरीका ३५, नेपाल प्रहरीका २०, अध्यागमन कार्यालयका चार र भन्सार कार्यालयका चार गरी ६३ जना सरकारी कर्मचारी कार्यरत छन् । उनीहरूसँगै केही स्थानीय नागरिकसमेत हिल्सा क्षेत्रमा बसोबास गरिरहेका छन् ।