लमजुङ । बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर–चामे सडकखण्डका संरचना पुनर्निर्माण तथा पक्की सडक र पुल निर्माणका लागि एक अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । त्यस्तै, बेँसीसहरदेखि चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सडकको समग्र स्तरोन्नतिका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए ।
उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक नै क्षतिग्रस्त भएको थियो ।
रामबजार, नासोँ गाउँपालिका–३ को खोत्रो तथा मनाङको कोतो क्षेत्रमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले जानकारी दिनुभयो । बाढीपहिरोले विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । विपद्का कारण छ दिनसम्म अवरुद्ध भएको सडक पुनः सञ्चालनमा ल्याउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो ।
नासोँ गाउँपालिका–३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुङ्गा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको सुवेदीले बताए । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत, सुधार तथा स्तरोन्नतिको काम गर्नुपर्ने उनको भनाइ छ ।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक सुधार गर्ने, पक्की सडक निर्माण गर्ने तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउने कामका लागि एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । सोहीअनुसार बजेट माग गर्दै केही दिनअघि मन्त्रालयमा प्रस्ताव पठाइएको उनले बताए।
हाल उपलब्ध स्रोतसाधनको उपयोग गरी सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो ।
यसैगरी, तीन वर्षअघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बेँसीसहरदेखि चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सडक कालोपत्र गर्ने, आवश्यक स्थानमा ढलान गर्ने र पक्की पुल निर्माण गर्ने योजनासहित बजेट माग गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए।
उनका अनुसार तीन अर्ब रुपैयाँ उपलब्ध भए सडकको समग्र स्तरोन्नतिसँगै बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको सुधार तथा पुनर्निर्माणसमेत गर्न सकिनेछ । तत्कालका लागि एक अर्ब रुपैयाँ उपलब्ध भए क्षति पुगेका स्थानमा पक्की सडक तथा पुल निर्माणको काम अघि बढाउन सकिने उनले बताए ।
बेँसीसहर–चामे सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख मार्ग हो । सडकको स्तरोन्नति तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भएपछि यातायात आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दा, पर्यटक र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।






