एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले ६ महिला, ६ पुरुष र अन्य पार्टीबाट एमालेमा आएका एक जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार मनोनीत हुनेमा सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी र डा. पुष्पा केसी भण्डारी छन्।

त्यसैगरी पुरुषतर्फ तेजमान कन्दङवा, टंक आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डवल पाण्डे र तेजेन्द्र केसी मनोनीत भएका छन्। अन्य पार्टीबाट एमालेमा आएका धर्मनाथ प्रसाद साहलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको भट्टले बताए।

भट्टका अनुसार पार्टीका विभिन्न विभाग, मञ्च तथा अन्य जिम्मेवारी बाँडफाँटसम्बन्धी गृहकार्य पूरा भएपछि बैठक बसेर आवश्यक निर्णय गरिनेछ।

उनले पार्टी अध्यक्ष र महासचिवबीच कुनै विवाद नरहेको दाबी गर्दै केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया सर्वसम्मत रूपमा टुंगिएको बताए।