सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

काठमाडौँ– सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको भीड लागेको छ ।
पितृपक्षको अन्तिम दिन बिहानैदेखि वाग्मती नदी किनारमा श्रद्धालुहरू भेला भएर धार्मिक विधिअनुसार श्राद्ध तथा पिण्डदानमा सहभागी भएका थिए । दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामनासहित श्रद्धालुहरूले विभिन्न धार्मिक कर्मकाण्ड गरेका हुन् ।


हिन्दू धार्मिक परम्पराअनुसार सोह्र श्राद्धका अवसरमा दिवङ्गत पितृको सम्झना र सम्मानमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने प्रचलन छ । पितृको तिथिअनुसार श्राद्ध गर्नुपर्ने धार्मिक मान्यताका कारण पशुपतिनाथ क्षेत्रमा अन्तिम दिन पनि भक्तजनको चहलपहल देखिएको थियो ।
पशुपति क्षेत्रमा लामो समयदेखि धार्मिक कर्मकाण्ड गराउँदै आएका पण्डित दीर्घराज रेग्मीले बिहानैदेखि भक्तजनहरू तर्पण तथा पिण्डदानका लागि आउने क्रम जारी रहेको बताए । उनका अनुसार सोह्र श्राद्ध पितृको सम्झना र सम्मानमा गरिने महत्त्वपूर्ण धार्मिक परम्परा भएकाले श्रद्धालुहरू विधिपूर्वक कर्मकाण्ड गर्न पशुपति क्षेत्रमा पुगेका हुन् ।


अर्का पण्डित नन्दराम लुइँटेलले श्राद्धलाई दिवङ्गत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने धार्मिक कर्मका रूपमा व्याख्या गरे । सोह्र श्राद्धका अवसरमा पितृको आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहेको उनले बताए ।
सोह्र श्राद्ध सुरु भएदेखि नै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको आवागमन बढेको थियो । विशेषगरी वाग्मती नदी किनारमा दिवङ्गत आफन्तको सम्झनामा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।
श्रद्धालुको चाप बढेसँगै पशुपति क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गराउने पण्डितहरूलाई समेत भ्याइनभ्याइ भएको थियो ।