जनकपुरधाम – बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ ।
बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनको व्यवस्थापनसहित सहर सजाउने काम पूरा भएको छ ।
जनकपुरधामका सडकमा स्वागतद्वार निर्माण गरिएका छन् भने सडक चोकलाई आकर्षक रूपमा सजाइएको छ । बडादसैँका अवसरमा श्रद्धालु भक्तजनको सहज आवागमन तथा पूजाआजालाई व्यवस्थित बनाउन विभिन्न तयारी गरिएको छ ।
जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरसहित अन्नपूर्णा मन्दिर, बौद्धिमाई मन्दिर, कपिलेश्वरस्थित जेठी राजदेवी मन्दिर, बूढियामाई स्थान, पीडरियामाई स्थान, पल्टिमाई तथा वैष्णवी देवी मन्दिरलगायत शक्तिपीठमा पूजाआजा र दर्शनको व्यवस्थापन मिलाइएको श्रीराम युवाक्लब जनकपुरधामका अध्यक्ष विजयकुमार साहले जानकारी दिए ।
राजदेवी मन्दिरको व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ भने अन्नपूर्णा र बौद्धिमाई मन्दिरको व्यवस्थापन राम युवा कमिटीले गरिरहेको छ । त्यस्तै कपिलेश्वर क्षेत्रको जेठी राजदेवी मन्दिर, महारानीमाईलगायत शक्तिपीठको व्यवस्थापन हरिदनाथ युवा कमिटी तथा सम्बन्धित समितिले गर्दै आएका छन् ।
बडादशैँका अवसरमा जनकपुरधामका शक्तिपीठमा पूजाआजा तथा दर्शनका लागि नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । विशेषगरी राजदेवी मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताए ।
महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहले सम्भावित भीडलाई ध्यानमा राख्दै मन्दिर परिसरको व्यवस्थापन, दर्शन तथा पूजाआजालाई सहज बनाउने र धार्मिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी पूरा गरिएको बताए ।
उनले बडादसैँका अवसरमा मिथिलाको मौलिक कला, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए । उनका अनुसार दसैँ अवधिमा मिथिलाको विशिष्ट लोकनृत्य झिझिया, भजनसन्ध्या तथा रावण दहनलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।
धार्मिक आस्था, सांस्कृतिक उत्सव र सामाजिक सद्भावको सङ्गमका रूपमा रहेको बडादसैँका लागि जनकपुरधामका शक्तिपीठ सजाइएका छन् । चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन धनुषा प्रहरीले पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए । उनका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैंक र वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ ।
विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सात वटा बजार अनुगमन टोली, सात वटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिनेछ । त्यस्तै लालगढमा एउटा चेकप्वाइन्ट सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।
सीमावर्ती क्षेत्र तथा संवेदनशील स्थानमा विशेष निगरानी बढाउनुका साथै विभिन्न तहका गस्तीलाई प्रभावकारी बनाइएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका लागि १ हजार २११ जना प्रहरी जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।
यसैबिच दसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा सस्तो बजार सञ्चालन गरिएको छ । विगत ४० वर्षदेखि सञ्चालन हुँदै आएको बजारमा उपभोक्ताले दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वमा आवश्यकपर्ने विभिन्न सामान एउटै स्थानबाट सहुलियत मूल्यमा खरिद गर्न पाउने छन् ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा सुरु भएको सस्तो बजारमा यस वर्ष १५० भन्दाबढी प्रदर्शनी कक्ष राखिएका छन् । खाद्यान्न, साबुन, सर्फ, चियापत्ती, अगरबत्ती, भाँडाकुँडा तथा कपडालगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्री बिक्रीका लागि राखिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।
चाडपर्वका बेला उपभोक्तालाई एउटै स्थानबाट आवश्यक सामग्री सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको दसैँ बजारप्रति सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दै गएको अध्यक्ष भण्डारीले बताए ।
धार्मिक तथा सांस्कृतिक गतिविधि, सुरक्षा व्यवस्थापन र सहुलियत बजार सञ्चालनसँगै जनकपुरधाममा बडादसैँको रौनक बढेको छ । मन्दिरमा पूजाआजा, सांस्कृतिक कार्यक्रम र किनमेलका लागि सर्वसाधारणको चहलपहल बढ्दै जाँदा मिथिलाको धार्मिक तथा सांस्कृतिक केन्द्र जनकपुरधाम दसैँमय बनेको छ ।






