लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध भएपछि घटेको पर्यटकको सङ्ख्या थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बढ्न थालेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक यस क्षेत्रमा आउन थालेका छन् । समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाइएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उनले बताए ।
पर्यटकीय याम सुरु भएसँगै भदौदेखि पर्यटकको आगमन बढ्न थालेको थियो । तर, असोजको दोस्रो साताको प्रतिकूल मौसमले आवागमन प्रभावित हुँदा दैनिक एक–दुई जना पर्यटक मात्रै आउने गरेका थिए । अहिले बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या पुनः बढ्न थालेको गुरुङले बताए ।
उनका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख गरिएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।
गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० जनासम्म पर्यटक आउने गरेकामा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताए । सडक तथा पदमार्ग थप सहज हुँदै गएमा पर्यटकको सङ्ख्या बढ्ने उनको अपेक्षा छ ।
हिमाली दृश्य, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र रहनसहनका कारण अन्नपूर्ण चक्रीय पदमार्ग स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुगिने यस पदमार्गमा जगत र धारापानी पर्यटकका महत्त्वपूर्ण बासस्थान हुन् ।
मस्र्याङ्दी गाउँपालिका–४, जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बाढीपहिरोका कारण पर्यटकको आगमन घट्दा व्यवसायको आम्दानी शून्यजस्तै बनेको बताए । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि दैनिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको उनको भनाइ छ ।
“गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो । केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले विस्तारै आउन थालेका छन्,” उनले भने ।
उनका अनुसार जगतमा करिब २२ वटा होटल सञ्चालनमा छन् । सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गको बीचमा पर्ने बस्तीका व्यवसायसमेत प्रभावित हुने गरेको उनले बताए । सडक तथा पदमार्ग सहज हुँदै गएमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने र व्यवसायमा सुधार आउने उनको अपेक्षा छ ।
मस्र्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि मुख्य पर्यटकीय सिजनमै बाढीपहिरोका कारण व्यवसाय सुनसान बनेको बताए । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उनको भनाइ छ ।
सडक र पदमार्गको अवस्था थप सहज भएमा पर्यटकको आगमन बढ्ने र लामो समयदेखि प्रभावित पर्यटन व्यवसाय पुरानै लयमा फर्किने अपेक्षा व्यवसायीले गरेका छन् ।
रासस






