काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका खुला केन्द्रीय सदस्य पदको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार खुलातर्फका केन्द्रीय सदस्य पदका लागि मतपत्र नम्बर ४ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ ।
मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा हुने समितिले जनाएको छ ।
निर्वाचन समितिले मतगणनास्थलमा केन्द्रीय सदस्य पदका उम्मेदवार स्वयंलाई मात्र उपस्थित हुन दिने व्यवस्था गरेको छ । उम्मेदवारका तर्फबाट अन्य प्रतिनिधिलाई मतगणनास्थलमा प्रवेश गर्न नदिइने समितिले स्पष्ट पारेको छ ।
समितिका सदस्यसचिव राजु कटुवालले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त व्यवस्था उल्लेख गरिएको छ ।






