पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्य पक्राउ परेका छन् ।

खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । दुई प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा आइतबारदेखि पीटीआईका सदस्यहरूलाई हिरासतमा लिन थालिएको बताएका छन् ।

खानका समर्थकहरूले पाकिस्तानको कमजोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । खैबर पख्तुनख्वामा आयोजित पदयात्रामा हजारौँ समर्थक सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी गतिविधि पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।

पीटीआईका अनुसार प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको थियो । एक प्रशासनिक अधिकारीका अनुसार उनलाई सुरुमा आधिकारिक निवासमै ‘सुरक्षात्मक हिरासत’ मा राखिएको थियो । पछि अर्को स्थानमा सारिए पनि उनलाई कहाँ लगिएको हो भन्नेबारे अधिकारीले खुलाउन चाहेनन् ।

खैबर पख्तुनख्वा पीटीआईको बलियो राजनीतिक आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म प्रान्तमा पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक रहेको दाबी गरेको छ ।

तर, पीटीआईले आपत्कालीन शासनलाई अलोकतान्त्रिक कदम भन्दै विरोध गरेको छ । पार्टीले यसलाई सङ्घीय सरकारद्वारा सत्ता कब्जा गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

पूर्वक्रिकेट खेलाडीसमेत रहेका इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । सन् २०२३ मेमा सरकार र सैन्य प्रतिष्ठानविरुद्ध भएका प्रदर्शन हिंसात्मक बनेपछि उनीमाथि भ्रष्टाचार तथा हिंसा भड्काएकोलगायतका आरोप लगाइएको थियो । खान र उनको कानुनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।