नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : कुल संख्या १ लाख ४४ हजार ८७२ पुग्यो

आज ५७४३ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक, ५ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ५७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका २० हजार ११८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा २ हजार ३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनासहित काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । यो कुल संक्रमितको ६८.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ ।