काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा दुई मन्त्रीबीच भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल र भारतबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने, सीमा व्यवस्थापनमा समन्वय बढाउने तथा सीमापार अपराध नियन्त्रण गर्ने विषयमा छलफल भएको छ। त्यस्तै, विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धिका विषयमा पनि दुवै मन्त्रीबीच विचार आदानप्रदान भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।
उनले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहकार्यलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।





