घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । घटस्थापनादेखि मंगलबारसम्म एक लाख नौ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा १७ हजार १३९ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका हुन् । उपत्यका छाड्नेमा ६७ हजार ६९० जना पुरुष र ४१ हजार ९४६ जना महिला रहेका छन् ।

दसैँ नजिकिएसँगै अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि प्रमुख नाका तथा बसपार्कमा यात्रुको चहलपहल बढेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चापसमेत बढ्दै गएको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको चाप बढेसँगै सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।

दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए ।

“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने ।

उनले लामो दूरीको यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न, चालकको स्वास्थ्यमा ध्यान दिन र सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरे । यात्रु तथा चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।

मुख्य सडकमा यातायात सञ्चालन भइरहे पनि चाडपर्वका कारण सवारीसाधनको चाप बढ्दा यात्रा समय लम्बिन सक्ने देखिएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यात्रुको चापलाई ध्यानमा राखेर यात्राको योजना बनाउन र पर्याप्त समय छुट्याउन आग्रह गरे ।

उनले दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाबाट बाहिरिने सडकमा थप चाप पर्ने बताए । यस्तो अवस्थामा ट्राफिक नियमको पालना, सुरक्षित गति र सवारीसाधनको क्षमताअनुसार यात्रु राख्नु आवश्यक रहेको उनको भनाइ छ ।

दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक परिवार र आफन्तसँग भेटघाट गर्न घर फर्किने गर्छन् । यात्रुको चाप अझै बढ्ने अनुमान गरिएकाले सार्वजनिक यातायात तथा सडक व्यवस्थापनमा सम्बन्धित निकायले विशेष सतर्कता अपनाएका छन् ।