म्याग्दी । पछिल्लो वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटे क्षेत्रमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका चारवटा टावर ढालेको थियो । बाढीले प्रसारण लाइनसमेत चुँडाएपछि मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंका अनुसार दाना सबस्टेसनबाट तत्काल विद्युत् आपूर्ति गर्न सम्भव नभएपछि वैकल्पिक व्यवस्थामार्फत सेवा सञ्चालन गरिएको हो ।
“मिलनचोकदेखि दाना हुँदै मुस्ताङको कोवाङसम्म रहेको ३३ केभी प्रसारण लाइनको मर्मत सम्पन्न गरेर विद्युत् आपूर्ति सुरु गरेका छौँ,” उनले भने, “प्राधिकरणका कर्मचारी, प्राविधिक र मजदुर परिचालन गरी विद्युत् सेवा सञ्चालन गर्न सफल भएका छौँ ।”
चापागाईंका अनुसार मुस्ताङमा असोज २४ गतेदेखि विद्युत् आपूर्ति सुरु गरिएको छ । म्याग्दीमा पनि एक–दुई घरबाहेक अन्य सबै क्षेत्रमा मर्मत कार्य सम्पन्न भएको छ । विद्युत् सेवा पुनः सञ्चालन भएपछि अवरुद्ध सञ्चार सेवा पनि नियमित भएको छ भने सर्वसाधारणको दैनिक जनजीवन सहज बन्दै गएको छ ।
बाढीले मिलनचोक–दाना ३३ केभी प्रसारण लाइनका १० वटा पोल, ५०० मिटर तार तथा दाना–कोवाङ खण्डका पाँचवटा पोल र २०० मिटर तारमा क्षति पुर्याएको थियो । विभिन्न विद्युतीय उपकरणसमेत नष्ट भएका थिए ।
त्यस्तै, तातोपानी वितरण केन्द्रअन्तर्गतको ११ केभी वितरण लाइनमा म्याग्दी र मुस्ताङमा एक–एकवटा पोल क्षतिग्रस्त भएका छन् । मुस्ताङमा एक हजार मिटर तार र अन्य उपकरणमा समेत क्षति पुगेको केन्द्रले जनाएको छ ।
वैकल्पिक व्यवस्थाअन्तर्गत थापाखोला र घलेम्दीखोला जलविद्युत् आयोजनाबाट नौ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी प्रसारण लाइनमा जोडेर वितरण गरिएको चापागाईंले जानकारी दिए ।
यसैबीच, बाढी र वर्षाका कारण म्याग्दीका चार जलविद्युत् आयोजना अझै बन्द रहेका छन् । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ११० मेगावाटको नीलगिरि, छ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द रहेको छ ।






