काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार तेस्रो दिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (असोज २८) छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेर दुई लाख ९२ हजार २०० रुपैयाँ कायम भएको थियो।
यसअघि सोमबार पनि सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ४०० रुपैयाँमा झरेको थियो। आइतबार भने सुनको मूल्य ८०० रुपैयाँले बढेर प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि लगातार तेस्रो दिन घटेको छ। बुधबार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर चार हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर चार हजार ३५५ रुपैयाँमा झरेको थियो। सोमबार २५ रुपैयाँले घटेर चार हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने ३५ रुपैयाँले बढेर चार हजार ४४० रुपैयाँ पुगेको थियो।






