आज देशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ – देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा हिमाली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।