उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात

उदयपुर । उदयपुर जिल्लामा उत्पादित मासुमध्ये वार्षिक तीन हजार १२० मेट्रिकटन मासु अन्य जिल्लामा निर्यात हुने गरेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका अनुसार जिल्लामा वार्षिक करिब आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ।

केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूका अनुसार जिल्लामा उत्पादन हुने कुल मासुमध्ये ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा निर्यात हुने गरेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२१ मेट्रिकटन बढी हो। अघिल्लो वर्षको तुलनामा मासु उत्पादनमा करिब २.९२ प्रतिशतले वृद्धि भएको केन्द्रले जनाएको छ।

गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा बढी सुँगुर तथा बङ्गुरको मासु उत्पादन भएको थियो। केन्द्रका अनुसार उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो।

त्यस्तै, खसीबोकाको एक हजार ९४४ मेट्रिकटन, कुखुराको एक हजार ८३५ मेट्रिकटन र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो। यसबाहेक भेडाको एक दशमलव पाँच मेट्रिकटन र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ।

कार्यालय प्रमुख लिम्बूले उदयपुर मासु उत्पादनमा आत्मनिर्भर रहेको बताए। जिल्लामा उत्पादित मासुको ठूलो हिस्सा स्थानीय बजारमै खपत हुने र बाँकी अन्य जिल्लामा निर्यात हुने गरेको उनले जानकारी दिए।

जिल्लामा मासुको माग पूरा गर्न सामान्यतया बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहे पनि कहिलेकाहीँ सुनसरीको बराहक्षेत्र र सप्तरीको सिसबारी क्षेत्रबाट बोइलर कुखुरा ल्याउनुपर्ने हुन्छ।

विशेषगरी दसैँका बेला उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा तथा सुँगुर–बङ्गुर अन्य जिल्लामा बढी मात्रामा निर्यात हुने गरेको केन्द्रले जनाएको छ।