म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्षको दसैँतिहार पीडा र अभावबीच बितिरहेको छ। मनसुनजन्य विपद्ले श्रीमान्, घरगोठ, पशुचौपाया र खेतीयोग्य जमिनसमेत खोसेपछि उहाँको परिवारमा चाडपर्वको खुसी हराएको छ।
पहिरोले सुतिरहेकै अवस्थामा पुरिएर ७० वर्षीय श्रीमान् लालवीर छन्त्यालको मृत्यु भएपछि दिलमतीको जीवनमा ठूलो बज्रपात परेको छ। श्रीमान् गुमाउनुको पीडामाथि बस्ने घर र जीविकोपार्जनको आधारसमेत नष्ट भएपछि उहाँलाई सामान्य जीवनमा फर्किन कठिन भएको छ। शरीरमा लागेको घाउ निको हुँदै गए पनि मनको चोट भने अझै ताजै छ।
“दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्ने रहेछ”, दिलमतीले भन्नुभयो, “जीवनको सहारा श्रीमान्सँगै बस्ने बास पनि खोस्यो। चारवटा भैँसी र पाडासहितको गोठ बगायो। खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदो रहेछ।”
हजुरबुबाको मायाबाट वञ्चित भए सात वर्षीय बालक
दिलमती र लालवीरले सात वर्षीय नाति दर्पण छन्त्यालको पालनपोषण गर्दै आउनुभएको थियो। दर्पणका आमा र बुबाले दोस्रो विवाह गरेपछि हजुरबुबा लालवीर, हजुरआमा दिलमती र काकी गौमायाले उनको हेरचाह तथा अभिभावकत्वको जिम्मेवारी सम्हाल्दै आएका थिए।
पहिरो खसेको थाहा पाएपछि नाति दर्पणलाई झ्यालबाट बाहिर निकाल्ने क्रममा दिलमती घाइते हुनुभएको थियो। उहाँले नातिको ज्यान जोगाउन सफल भए पनि आफ्नै जीवनको सहारा बनेका श्रीमान्लाई बचाउन सक्नुभएन।
हजुरबुबाको निधनले दर्पणको बालमनमा गहिरो चोट परेको छ। परिवारका सदस्य गुमाउनुको पीडासँगै घरबारविहीन हुनुपरेपछि उनीहरूको दसैँतिहारसमेत खल्लो बनेको छ। विगतमा परिवारसँगै मनाइने चाडपर्व यस वर्ष उनीहरूका लागि दुःख, अभाव र विछोडको सम्झना बनेका छन्।
दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरो
चिनाखेतका बासिन्दाले यस वर्ष दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरोको सामना गर्नुपरेको छ। गत साउन ११ गते र असोज ११ गते आएको बाढीपहिरोले बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएपछि स्थानीयवासी सुरक्षित बसोबासको चिन्तामा परेका छन्।
स्थानीय शिक्षक चमेली थापाका अनुसार विपद्ले बस्तीमा क्षति पुर्याएपछि गाउँमा दसैँतिहारको माहोल हराएको छ। पहिरोको जोखिम बढ्दै जाँदा स्थानीयवासी आफ्नो पुर्ख्यौली थातथलो छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन्।
“पहिरोले उठिबास लगाएकाले चाडपर्वको माहोल नै हराएको छ”, उहाँले भन्नुभयो, “दुई महिनाको अन्तरमा लगातार पहिरो आएपछि चिनाखेतवासी थातथलो छाडेर बसाइँ सर्ने क्रम बढेको छ।”
बस्तीमाथिको पाखोमा सक्रिय पहिरो खोल्सामा मिसिएर गेगरसहितको बाढी बस्ती र खेतबारीतर्फ पस्ने गरेको छ। बाढीपहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन भएको छ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो। त्यसैगरी, असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनको घर बस्नै नमिल्ने अवस्थामा पुर्याएको छ।
एक सय ५० रोपनी जमिन बगरमा परिणत
चिनाखेतमा बाढीपहिरोका कारण ४२ घरपरिवार प्रभावित भएका छन्। वडाध्यक्ष पुनका अनुसार करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचा, कृषि फार्म, धानखेतलगायत खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।
पछिल्लो समय चिनाखेतका बासिन्दाले व्यावसायिक सुन्तला तथा तरकारीखेती विस्तार गर्दै आएका थिए। गाउँमै कृषि व्यवसाय गरेर आत्मनिर्भर बन्ने र रोजगारी सिर्जना गर्ने स्थानीयको प्रयासमा विपद्ले गम्भीर धक्का पुर्याएको छ।
स्थानीय भवी छन्त्यालले फल दिने अवस्थामा पुगेका करिब एक सय सुन्तलाका बोट रहेको आफ्नो बगैँचा पहिरोले पुरिएर बगर बनेको बताउनुभयो। वर्षौँको मिहिनेत र लगानीपछि आम्दानी दिन थालेका बोटबिरुवा तथा खेतीयोग्य जमिन नष्ट भएपछि उहाँको जीविकोपार्जनमा समेत समस्या थपिएको छ।
मगर र छन्त्याल समुदायको बसोबास रहेको चिनाखेतका बासिन्दाले व्यावसायिक कृषिमार्फत आर्थिक अवस्था सुधार गर्ने लक्ष्य राखेका थिए। तर, बस्तीमाथिको पहिरो र खोलामा आउने बाढीका कारण उनीहरूको मिहिनेत, लगानी र भविष्यका योजनामाथि नै संकट उत्पन्न भएको छ।
कृषक धनबहादुर थापाका अनुसार गाउँमै व्यावसायिक कृषि गरेर आत्मनिर्भर र स्वरोजगार बन्ने योजनामा बाढीपहिरो बाधक बनेको छ। खेती गर्ने जमिन नै जोखिममा परेपछि अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले किसानलाई सताएको छ।
खानेपानी योजना, खेलमैदान र सामुदायिक भवनमा क्षति
बाढीपहिरोले चिनाखेतका निजी सम्पत्तिमा मात्र नभई सामुदायिक पूर्वाधारमा समेत क्षति पुर्याएको छ। चिनाखेत–डाँडाखानी खानेपानी योजनाको मुहानमा रहेको ट्याङ्की पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। हिमचुली स्पोर्ट्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवनसमेत पहिरोले पुरेको छ।
खानेपानी, सामुदायिक भवन र खेलमैदानमा क्षति पुगेपछि स्थानीयको दैनिक जीवन र सामुदायिक गतिविधिमा असर परेको छ। बस्तीमाथिको पहिरो अझै सक्रिय रहेकाले थप क्षति हुनसक्ने चिन्ता पनि उत्तिकै छ।
वडाध्यक्ष पुनका अनुसार गाउँ नै जोखिममा परेपछि भूगर्भविद्को टोलीबाट पहिरोको स्थलगत अनुगमन गराइएको छ। पहिरोको अवस्था अध्ययन गरी रोकथाम तथा नियन्त्रणका लागि बेनी नगरपालिका र प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो।
घर र खेतबारी गुमेपछि थातथलो छाड्ने चिन्ता
लगातारको बाढीपहिरोले घर र खेतबारी जोखिममा पारेपछि चिनाखेतका बासिन्दा सुरक्षित बसोबासको विकल्प खोज्न बाध्य भएका छन्। वर्षौँदेखि बस्दै आएको गाउँ छाड्नुपर्ने अवस्था आउँदा उनीहरूलाई सम्पत्तिको क्षतिसँगै पुर्ख्यौली थलोबाट विस्थापित हुनुपर्ने चिन्ताले सताएको छ।
स्थानीय मोती पुनका अनुसार बाढीपहिरोको जोखिम बढ्दै गएपछि गाउँ छाडेर अन्यत्र जाने विषयमा सोच्नुपर्ने अवस्था आएको छ।
“पटकपटक पहिरो र बाढीले सताउन थालेपछि चिनाखेतवासीले विकल्प खोज्न थालेका छौँ”, उहाँले भन्नुभयो, “बस्ने बास र कमाउने जमिन नै नभएपछि गाउँ नै छाडेर जानुपर्ने अवस्था आएको छ।”
सुरक्षित आवासको व्यवस्था नहुँदा स्थानीयवासी जोखिमयुक्त घरमा बसिरहने कि थातथलो छाडेर अन्यत्र जाने भन्ने दोधारमा छन्। खेतीयोग्य जमिन बगरमा परिणत भएपछि कृषि पेसामा आश्रित परिवारलाई दैनिक गुजारा चलाउनसमेत कठिन भएको छ।
पुनःस्थापना र बस्ती संरक्षणको पर्खाइ
चिनाखेतका बासिन्दाले जोखिमयुक्त क्षेत्रमा बस्दै आएका परिवारका लागि अस्थायी आवास, सुरक्षित स्थानमा पुनःस्थापना तथा पहिरो र बाढी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न राज्यका निकायसँग माग गरेका छन्। बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि प्राविधिक अध्ययनका आधारमा दीर्घकालीन योजना आवश्यक रहेको उनीहरूको भनाइ छ।
पहिरोको जोखिम न्यूनीकरण, क्षतिग्रस्त खानेपानी योजनाको पुनर्निर्माण र जीविकोपार्जनका आधार पुनःस्थापना हुन सकेमा मात्रै प्रभावित परिवार सामान्य जीवनमा फर्किन सक्ने आशा गरिएको छ।
यस वर्ष चिनाखेतका धेरै घरमा दसैँतिहारको तयारीभन्दा सुरक्षित बासको चिन्ता ठूलो बनेको छ। कसैले आफन्त गुमाएका छन्, कसैले घरबार र खेतीपाती गर्ने जमिन। वर्षौँको मिहिनेतले बनाएको जीवन एकैपटक उजाडिएपछि स्थानीयवासीका लागि चाडपर्वको खुसीभन्दा विपद्ले दिएको पीडा गहिरो बनेको छ।






