काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार ओरालो लागेको छ। आइतबार सामान्य वृद्धि भएको सुनको मूल्य सोमबारदेखि निरन्तर घटिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार (असोज २९ गते) छापावाल सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ। मूल्य घटेसँगै बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेर दुई लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको थियो। त्यसअघि मंगलबार दुई हजार २०० रुपैयाँले घट्दै सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँमा झरेको थियो।
त्यस्तै, सोमबार सुनको मूल्य दुई हजार १०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो। आइतबार भने सुनको मूल्य ८०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ। बिहीबार चाँदी प्रतितोला २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर चार हजार २५५ रुपैयाँमा झरेको थियो। मंगलबार ६० रुपैयाँले घटेर चार हजार ३५५ रुपैयाँ र सोमबार २५ रुपैयाँले घटेर चार हजार ४१५ रुपैयाँ कायम भएको थियो। आइतबार भने चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला चार हजार ४४० रुपैयाँ पुगेको थियो।






