संक्रमितबाट शूल्क नउठाउन बाग्मती प्रदेश सरकारको निर्देशन

कात्तिक ६, काठमाडौं ।
केन्द्र सरकारले कोरोना संक्रमितको उपचार खर्च बिरामीबाटै भराउने भनिरहँदा बाग्मती प्रदेश सरकारले भने कोभिड विशेष अस्पतालहरूलाई शूल्क नलिन पत्र काटेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमित सबै नागरिकको निशुल्क उपचार गर्न कोरोना विशेष अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरेको हो ।

संघीय सरकारले कात्तिक २ गतेदेखि आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

अन्यसँग भने कोरोना परीक्षण र उपचारको रकम लिने संघीय सरकारको निर्णय थियो । यसपछि राजधानीका सबै अस्पतालले त्यस अनुसार शूल्क लिन सुरु गरिदिएका थिए ।

तर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै ८ वटा कोरोना विशेष अस्पताल, १३ वटै जिल्ला स्वास्थ्य कार्यालय र धुलिखेलको जनस्वास्थ्य प्रयोगशालालाई पत्र लेखी संघीय सरकारले निःशूल्क उपचार गर्नेबाहेक अन्य नागरिकमा पनि कोरोना देखिए निःशुल्क उपचार गर्न भनेको छ ।

सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार संघीय सरकारको निर्णयअनुसार लक्षित वर्गबाहेक अन्य नागरिकलाई समेत हाल प्रदान गरिरहेको सेवा साविकको विधि, प्रक्रियाअनुसार निरन्तरता दिन अस्पतालहरुलाई भनिएको छ ।