काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान तथा जलवायु–उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्लेले एडीबीका अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा यस्तो आग्रह गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधारको पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न अध्यक्ष कान्दासँग आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
भेटका क्रममा बाढीपछि उद्धार कार्यमा सहयोग पुर्याउन आपत्कालीन अनुदान शीघ्र स्वीकृत गरेको तथा नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा अर्थमन्त्री वाग्लेले एडीबीप्रति आभार व्यक्त गरेका थिए ।
त्यस अवसरमा एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।






