कात्तिक ६, काठमाडौं ।
विदेश जानेको संख्या शून्य प्रतिशतमै पुगेको बेला पन विदेशबाट नेपाल पठाइने रकम भने बढेको तथ्यांकले देखाएको छ ।
विदेशबाट नेपाल भित्रिने रेमिटेन्समा ८ प्रतिशतले वद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले सुधार भएको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । रेमिटेन्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने लगभग शतप्रतिशत हाराहारीमा नै यस अवधीमा घटेका छन् ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।







