चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेस्टुरेन्ट, मिठाई पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।

विभागले बिहीबार सूचना जारी गर्दै विशेषगरी राजमार्गमा यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री वितरण गर्न आग्रह गरेको हो।

विभागका अनुसार व्यवसायीले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थ मात्र बिक्री गर्नुपर्नेछ। पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्ने, खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्ने तथा भान्सा, खाना वितरण गर्ने स्थान र वरपरको परिसर सफा राख्नुपर्नेछ।

त्यस्तै, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन, सफा भाँडाकुँडा प्रयोग गर्न र स्वच्छ पिउने पानीको व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ। गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।

विभागले बासी, सडेगलेका, झिँगा भन्केका, धुलो वा फोहोर पानी मिसिएका तथा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री वितरण नगर्न सचेत गराएको छ। खाद्य पदार्थ बिक्री गर्ने स्थानमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा खाद्य पदार्थ बिक्री गर्न पनि आग्रह गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधान पालना गर्न व्यवसायीलाई निर्देशन दिँदै विभागले नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ।

यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ।

चाडपर्वका समयमा खाद्य पदार्थको खपत बढ्नुका साथै यात्रुको आवतजावतसमेत बढ्ने भएकाले उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो।