म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान र स्थानीयवासीको सहयोगमा पहिरो प्रभावित दुई परिवारका लागि अस्थायी आवास निर्माण गरेका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार र रेखा दर्जीको घर बगाएपछि उनीहरू घरबारविहीन भएका थिए। समस्यामा परेका दुवै परिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउने उद्देश्यले साहारा समूहका स्वयंसेवकले अस्थायी आवास निर्माण गरेका हुन्।
साहारा समूहका संयोजक प्रकाश पौडेलका अनुसार दिवाकर गोल्छा फाउन्डेसनले उपलब्ध गराएको जस्तापाताले छाना छाएर काठ तथा ढुङ्गामाटोको प्रयोग गरी दुईवटा अस्थायी घर बनाइएको हो। घर निर्माणका लागि आवश्यक काठजन्य सामग्री स्थानीयवासीले सहयोग गरेका थिए।
समूहका १५ जना युवाले १० दिनसम्म श्रमदान गरेर आवास निर्माण सम्पन्न गरेका संयोजक पौडेलले बताए। विपद्का कारण घर गुमाएका परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन आवास निर्माण गरिएको उनले जानकारी दिए।
यसैगरी, बाढीपहिरोबाट प्रभावित अन्य परिवारलाई सहयोग गर्ने उद्देश्यले म्याग्दीको मङ्गला गाउँपालिकामा समेत थप अस्थायी आवास निर्माणको काम अघि बढाइएको पौडेलले बताए।
असोज दोस्रो साता परेको अविरल वर्षापछि म्याग्दीका विभिन्न बस्तीमा आएको बाढीपहिरोले घर, सडक, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुर्याएको छ। विपद्बाट प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्थानीयवासी, विभिन्न सङ्घसंस्था र सहयोगी निकायले राहत तथा पुनर्निर्माणका कामलाई निरन्तरता दिइरहेका छन्।






