काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले दसैँ र तिहारलाई लक्षित गर्दै थप घिउ तथा याक चिजसहितका दुग्धजन्य उत्पादन संयुक्त अरब इमिरेट्स (युएई)को दुबई पठाएको छ। यसपटक एक हजार पाँच सय किलो घिउसहित याक चिज र पेडा दुबई पुर्याइएको हो।
यसअघि परीक्षणका रूपमा दुबई पठाइएको एक हजार पाँच सय किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि डिडिसीका उत्पादन पुनः निर्यात गरिएको हो। नेपाली उत्पादनको माग बढ्दै गएपछि चाडपर्वलाई लक्षित गरी थप परिमाणमा दुग्धजन्य सामग्री पठाइएको हो।
रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार नेपालबाट पठाइएका उत्पादन दुबईस्थित मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत बिक्री–वितरण हुँदै आएका छन्। उक्त कम्पनीले सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसन गरी तीन स्थानबाट नेपाली उत्पादन बिक्री गर्दै आएको छ।
घिमिरेले विगतमा निर्यात गरिएको घिउले राम्रो बजार पाएको र माग बढेपछि अहिले १५० किलो याक चिज, पेडा र घिउ थप पठाइएको जानकारी दिए। उनका अनुसार कम्पनीले विगत दुई वर्षदेखि विभिन्न नेपाली रैथाने उत्पादन विदेशी बजारमा पुर्याउँदै आएको छ।
नेपाली उत्पादनलाई विदेशमा रहेका नेपाली समुदायसँगै अन्य उपभोक्तामाझ पनि परिचित गराउँदै बजार विस्तार गर्ने लक्ष्य रहेको घिमिरेले बताए। दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा युएईबाहेक पश्चिम एसियाका अन्य मुलुकमा समेत नेपाली दुग्धजन्य उत्पादनको बजार विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार संस्थानले आफ्ना उत्पादनको अन्तर्राष्ट्रिय बजारमा सम्भावना परीक्षण गर्दै निर्यात विस्तार गर्ने रणनीति लिएको छ। विदेशमा पठाइएका उत्पादनले पाउने प्रतिक्रिया र उपभोक्ताको मागका आधारमा आगामी निर्यात योजना तय गरिने उनले बताए।
नेपाली दुग्धजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रयासस्वरूप डिडिसीले निर्यातको सम्भावना खोजिरहेको छ। दुबईमा प्राप्त हुने बजार प्रतिक्रिया र मागले आगामी दिनमा नेपाली घिउ, याक चिजलगायतका उत्पादनको निर्यात विस्तारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।





