काठमाडौं । मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई बिक्री गर्ने व्यवसायीलाई उपभोक्ताले स्पष्ट देख्ने गरी सोकेस वा काउन्टरमा आवश्यक विवरण राख्न निर्देशन दिएको हो।
विभागले शुक्रबार जारी गरेको सूचनामा उपभोक्ताको स्वास्थ्य सुरक्षा र हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग गरिएका सामग्रीबारे स्पष्ट जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ।
निर्देशनअनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, प्रयोग गरिएको तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति तथा प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
यो व्यवस्था होटल, मिठाई पसल, मिठाई भण्डारलगायत मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने सबै व्यवसायीका लागि लागू हुनेछ। यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग भएका सामग्री, त्यसको उपभोग अवधि र मूल्यबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
विभागले निर्देशन पालना नगर्ने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
त्यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा आफ्नो व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ प्राप्त गरेर व्यवसाय सञ्चालन गर्न विभागले सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।





