कात्तिक ६, काठमाडौं ।
देशभर कोरोना भाइरस महामारीका कारण ठप्प अर्थतन्त्र लकडाउन खुलेसँगै बिस्तारै लयमा आउँदै गएको देखिएको छ । अहिले घरजग्गा कारोबार पनि फस्टाएको देखिएको छ ।
सरकारी तथ्यांकले असोजमा सबैभन्दा बढी घरजग्गाको कारोबार भएको छ । यसबाट पाँच अर्बभन्दा बढी राजश्व संकलन भएको देखिएको छ ।
असोज महिनामा देशभरका १ सय ८ मालपोत कार्यालयहरूबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा, प्रतिलिपि जस्ता कार्यगरी कुल एक लाख ७० हजार १ सय १ वटा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ ।
विभागअन्तर्गत १ सय २६ कार्यालयमध्ये अनलाइन प्रणाली सञ्चालन भएका १ सय ८ कार्यालयहरूको मात्रै कारोबार भएको तथ्याङ्क समावेश रहेको विभागले जनाएको छ । अनलाइन प्रणाली लागू नभएका बाँकी १८ कार्यालयहरूको कारोबार यसमा समावेश गरिएको छैन । तर, यी १८ वटा मालपोत कार्यालयमा पनि दशैंपछि अनलाइन प्रणाली लागू गर्ने विभागको भनाइ छ ।
त्यस्तै, देशभरका मालपोत कार्यालयबाट असोज महिनामा ५६ हजार ८ सय ३८ लिखित पारित, ३ हजार ४ सय ८३ नामसारी, ४ हजार ५२ संशोधन, ५८ हजार ४ सय ७१ रोक्का र ३३ हजार ७ सय ८० फुकुवा गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागको तथ्याङ्क अनुसार असोज महिनामा सबैभन्दा बढी कारोबार गरेकोमा भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर–झापा रहेको छ । जसमा भद्रपुर झापाले असोज महिनामै ६ हजार ८ सय ८१ कारोबार गरेको छ ।
त्यसैगरी, बेलाबारी– मोरङले ५ हजार ८ सय ८४, नेपालगञ्ज–बाँकेले ५ हजार ५ सय ९१, भक्तपुरले ४९ हजार ९, जनकपुरधाम–धनुषाले ४ हजार ८ सय ७३ लगायत अन्य देशभरका मालपोत कार्यालयले असोजमा उल्लेखनीय कारोबार गरेका छन् ।
कोरोनाको महामारीले सुस्ताएको घरजग्गाको कारोबार असोज महिनामा उल्लेखनीय कारोबार भएसँगै सरकारले ५ अर्ब २७ करोड २० लाख ५३ हजार राजस्व संकलन गरेको छ । यो कोरोनाले लकडाउन भएपछिको सबैभन्दा बढी कारोबार तथा राजस्व संकलन भएको तथ्याङ्क हो ।
सरकारले देशभरको मालपोत कार्यालयबाट सेवा करवापत ३७ करोड ९१ लाख ४१ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ९१ करोड ५२ लाख १४ हजार, पूँजीगत लाभ करबाट १ अर्ब ३३ करोड २१ लाख ८५ हजार र बिलम्ब शुल्कबाट ३१ लाख ५१ हजार ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
असोज महिनाको हेर्दा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय ललितपुर–लगनखेलबाट सरकारले राजस्व संकलन गरेको छ । ललितपुर जिल्लाको लगनखेनबाट मात्रै ४४ करोड ५ लाख ८३ हजार राजस्व संकलन गरेको छ । जसमा उक्त कार्यालयबाट रजिष्ट्रेशन शुल्क मात्रै २८ करोड ७५ लाख १३ हजार र सेवा करवापत १ करोड ६९ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, मालपोत कार्यालय डिल्लिबजारले ३८ करोड ८८ लाख १९ हजार, कलंकीले ३४ करोड १५ लाख ४४ हजार, भक्तपुरले ३२ करोड ६६ लाख ७ हजार, चावहिलले २९ करोड ६ लाख ६३ हजार राजस्व संकलन गरेको छ ।
उपत्यकाबाहिरमा सबैभन्दा बढी कारोबार गर्नेमा कास्की अगाडि रहेको छ । कास्कीले असोज महिनामा १७ करोड ८४ लाख ८४ हजार राजस्व संकलन गरेको छ ।
त्यस्तै, विराटनगर–मोरङले १७ करोड २६ लाख ८६ हजार, चितवनले १० करोड ३० लाख १ हजार, नेपालगञ्जले ९ करोड ४५ लाख १८ हजार राजस्व संकलन गरेको छ ।
यस्तो छ कारोबार बढ्नुको कारण
कोरोनाले मालपोत कार्यालय कहिले बन्द कहिले खुल्ला भइरहेको अवस्थामा असोज महिनामा विना कुनै रोकावट सेवा प्रवाह भएकाले राम्रो कारोबार भएको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् ।
उनका अनुसार देशभरका सबै मालपोत कार्यालयहरूले प्राथमिकतामै राखेर कोरोनाको समयमा पनि उच्च सतर्कता अपनाई सेवा प्रवाह दिएका थिए । ‘कोरोना संक्रमितको संख्या बढे पनि दशैं नजिकिएको कारणले गर्दा पछि बन्द हुन्छ की भनेर सबै कार्यालय खुलेर कारोबार गर्यो,’ उनले भने, ‘विगतको दिनमा रोकिएको काम पनि असोजमा भएकाले सबैभन्दा बढी कारोबार र राजस्व संकलन भएको हो ।’
त्यसैगरी, वर्षा (असार, साउन, भदौ) को बेलामा कारोबार कम हुने र असोजदेखि कारोबार बढ्दै जाने भएकाले पनि बढी कारोबार हुन पुगेको उनको भनाइ छ ।
यसका साथै, कोरोनाले गर्दा दशैंपछि कार्यालय खुल्दैन भन्ने चिन्ताले पनि मानिसले रोकिएको काम कार्यालय खुलेको बेला गर्नुपर्छ भन्ने मानसिकताले पनि कारोबार बढेको उनको अनुमान छ ।







