काठमाडौँ। आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थान बलियो बनाउने महत्वपूर्ण अवसर हो। क्यानडा शीर्ष छमा पर्ने सम्भावना कायम राख्न जितको खोजीमा हुनेछ भने नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा छ।
अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ। नेपालले ३४ खेलमा १३ जित, १९ हार र दुई बराबरीसहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच बराबरीसहित २७ अङ्क हासिल गरेको छ।
जारी शृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले हराएको थियो। यही जितको लयलाई निरन्तरता दिँदै क्यानडाविरुद्ध पनि सफलता हात पार्ने नेपालको लक्ष्य छ।
यता क्यानडा भने नेपालसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै शीर्ष छमा पर्ने सम्भावना जीवित राख्न चाहन्छ। उसले आफ्नो पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २५६ रन बनाएको थियो।
नेपालले जारी शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै राम्रो योगफल तयार पारेको छ। क्यानडाविरुद्ध २३५ रन बनाएको नेपालले ओमानसँगको खेलमा २६३ रन जोडेको थियो। शृङ्खलामा पहिले ब्याटिङ गर्ने टोलीले नै जित हात पारेकाले आजको खेलमा टस र सुरुआती ब्याटिङ पनि महत्वपूर्ण बन्न सक्नेछ।
नेपालले क्यानडाको ब्याटिङलाई नियन्त्रणमा राख्दै आफ्नो ब्याटिङ प्रदर्शनलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
क्यानडासँग नेपालको विगत
नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। सन् २०२४ मा क्यानडासँग पराजित भएपछि नेपालले पछिल्लो भेटमा जित निकालेको थियो।
आजको खेलमा क्यानडालाई पराजित गर्न सके नेपालले शीर्ष छमा आफ्नो स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध खेल्दा दबाब कम गर्न सक्नेछ। तर, क्यानडासँग पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने दबाब बढ्नेछ।






