चितवनका कैदीबन्दीलाई छैन दसैँको उत्साह

चितवन – विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन।

गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन।

विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दसैँमा नभएको बताउछन्।

उनले भने, ‘अघिल्ला वर्षहरूमा दसैँमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ।’ यो वर्ष शुद्ध शाकाहारी तरिकाले दसैँ मनाउने योजना रहेको उनले जानकारी दिए।

अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउछन्।

अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उनले बताए।

उनले भने, ‘कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष।’

टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उनले जानकारी दिए।

कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उनले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताए।

अघिल्ला वर्षहरूमा यहाँ बसेर दसैँ मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उनको भनाइ छ। अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ।

अघिल्ला वर्षहरूमा दसैँको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन्।

उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन्।

विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दसैँ बाढीपहिरोले लगेको बताउछिन्।

देश नै शोकमा रहेको समयमा उत्साहसहित दसैँ मनाउने सोच आफूहरूमा नरहेको उनले बताइन्।

अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन्। जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन्।

कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताए।

आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उनले बताए। अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उनको भनाइ छ।