विश्वकप लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल लिग–२ को छैटौँ स्थानमा

काठमाडौं । बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार अल अमेरत ग्राउन्ड टर्फ–१ मा भएको खेलमा जित निकालेसँगै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको छ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।

ओमानका लागि जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ३२ रनमा पहिलो विकेट गुमाएको ओमानका लागि यी दुई ब्याटरले दोस्रो विकेटका लागि १५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

१९० रनको अवस्थामा नेपालले ओमानको दोस्रो विकेट लिएको थियो। त्यसपछि थप १३ रन जोड्दा तेस्रो विकेट गुमाएको ओमान २०३ रनमा पुगेको थियो। त्यसपछि २०६ रनमा चौथो विकेट गुमाएको ओमानका कप्तान विनायक शुक्ला आउट हुँदा टोलीको स्कोर २२४ रन थियो। सन्जु सजिव रनआउट भएपछि ओमान २३२ रनमा छैटौँ विकेट गुमाउने अवस्थामा पुग्यो।

त्यसपछि हस्नैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानलाई जितको आशा दिलाएका थिए। उनले २३ बलमा अविजित ४० रन बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्।

अन्तिम ओभरमा ओमानलाई जितका लागि २३ रन आवश्यक थियो। नेपालका दीपेन्द्रसिंह ऐरीले बलिङ गरेको उक्त ओभरको पहिलो बलमा हस्नैनले दुई रन लिए। त्यसपछि लगातार दुई चौका प्रहार गरेसँगै ओमानलाई तीन बलमा १३ रन आवश्यक भयो। चौथो बलमा दुई रन जोड्दा अन्तिम दुई बलमा ११ रन चाहिएको थियो। दीपेन्द्रले पाँचौँ बलमा रन दिएनन् भने अन्तिम बलमा पनि ओमानले रन जोड्न सकेन। यससँगै नेपालले रोमाञ्चक जित हात पार्‍यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।

नेपालका लागि रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६९ रन जोडे। ओपनर देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए।

नेपालले ९९ रनमा तीन विकेट गुमाइसकेको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले नेपाललाई बलियो स्कोरतर्फ अघि बढाएको थियो। तर, २३८ रनमा तेस्रो विकेट गुमाएपछि नेपालले थप ४२ रन जोड्दा बाँकी सात विकेट गुमायो।

अन्तिमतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे। यद्यपि, नेपालको फिनिसिङ अपेक्षाअनुसार बलियो हुन सकेन।

ओमानका शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे।

जितसँगै नेपाल छैटौँ स्थानमा

लिग–२ को अंकतालिकामा शीर्ष छभित्र रहन नेपाललाई ओमानविरुद्धको खेल जित्नैपर्ने दबाब थियो। सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल शनिबार क्यानडासँग पराजित भएपछि अंकतालिकामा पछि परेको थियो।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो।

तर, अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपालले ३६ खेलबाट ३० अंक जोडेको छ। यससँगै नेपाल छैटौँ स्थानमा उक्लिएको हो।

लिग–२ को शीर्ष छमा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो जित महत्त्वपूर्ण बनेको छ।