फ्रान्समा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्रीद्वारा स्थानीय कफ्र्युको आह्वान

पेरिस । फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्ध जारी प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले स्थानीय स्तरमा कर्फ्यु लगाउन आह्वान गरेका छन्। प्रदर्शनकारीहरूले सोमबार राजधानी पेरिसस्थित लुभ्र सङ्ग्रहालयको प्रवेशद्वारसमेत अवरुद्ध पारेका छन्।

सप्ताहान्तमा देशभर भएका प्रदर्शनका क्रममा पसलमा तोडफोड र लुटपाट हुनुका साथै सार्वजनिक भवन तथा सवारीसाधनमा आगजनी भएको थियो। गृहमन्त्री लरेन्ट नुनेजले प्रहरी अवस्थामाथि नियन्त्रण कायम गर्न कठिनाइ भएको बताएपछि प्रधानमन्त्री लेकोर्नुले मन्त्रीहरूसँग सङ्कटकालीन बैठक गरेका थिए।

आगामी शनिबार पुनः प्रदर्शन गर्ने ‘येलो भेस्ट’ आन्दोलनको घोषणापछि प्रधानमन्त्री लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार आंशिक तथा स्थानीय कर्फ्यु लागू गर्न आग्रह गरेका हुन्। उनले सार्वजनिक व्यवस्था पुनःस्थापना गर्न सरकार प्रतिबद्ध रहेको र आवश्यक परे सङ्कटकाल घोषणा गर्नसमेत तयार रहेको बताएका छन्।

गत शनिबार फ्रान्सभर करिब पाँच लाख मानिस जीवनयापनको बढ्दो लागतविरुद्ध सडकमा उत्रिएका थिए। चार साताअघि विद्यालयको वातावरण सुधारको माग गर्दै विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन क्रमशः व्यापक जनआन्दोलनमा परिणत भएको थियो।

प्रदर्शनका क्रममा मुखुन्डो लगाएका समूहहरूले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै नगर भवनलगायत सार्वजनिक संरचनामा आगजनी र पसलमा लुटपाट गरेका थिए। प्रहरीको कारबाहीमा प्रदर्शनकारीसमेत घाइते भएका छन्।

न्यायमन्त्री जेराल्ड डारमानिनका अनुसार सप्ताहान्तमा दुई हजार ३३० भन्दा बढी मानिस पक्राउ परेका छन्। यसअघि सार्वजनिक विवरणमा झडपका क्रममा करिब एक हजार सुरक्षाकर्मी घाइते भएको उल्लेख गरिएको थियो।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्री नुनेजको राजीनामा प्रस्ताव अस्वीकार गरेका छन्। यद्यपि, देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि सुरक्षा तथा गुप्तचर संयन्त्रमा कमजोरी रहेको उनले स्वीकार गरेका छन्।

फ्रान्सको चेम्बर अफ कमर्सका अध्यक्ष एलेन डि क्रेसेन्जोका अनुसार हिंसाका कारण देशभर दुई हजारभन्दा बढी पसल प्रभावित भएका छन्। घटनाबाट भएको आर्थिक क्षति सयौँ मिलियन युरो पुग्ने अनुमान गरिएको छ।

फ्रान्समा मार्चयता डिजेलको मूल्य करिब ४० प्रतिशत र पेट्रोलको मूल्य २५ प्रतिशतले बढेको छ। त्यस्तै, सन् २०२१ यता खाद्यवस्तुको मूल्य पनि २५ प्रतिशतले वृद्धि भएको छ। बढ्दो महँगीले सर्वसाधारणको दैनिक जीवनमा आर्थिक दबाब थपेको छ।

युरोपेली सङ्घले हिंसाको निन्दा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको रक्षा हुनुपर्नेमा जोड दिएको छ। जर्मनी र बेलायतले पनि फ्रान्समा जारी हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, इटाली, बेल्जियम, स्पेन र पोर्चुगलमा पनि जीवनयापन तथा आवासको बढ्दो लागतविरुद्ध प्रदर्शन भइरहेका छन्। फ्रान्समा आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा जारी अशान्तिले राजनीतिक तनावसमेत बढाएको छ।