केन्द्रीय विद्युत् प्रसारणले फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयवासीको जनजीवन सहज बनेको छ । लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयका घरघरमा बिजुली पुगेपछि उनीहरू उत्साहित भएका छन् ।

विद्युत् सेवा विस्तारसँगै स्थानीयवासी सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा बिजुली पुगेपछि स्थानीयले इन्टरनेट, टेलिभिजनलगायत सुविधाको उपभोग गर्न पाएका छन् ।

विद्युत्को अभावमा यसअघि ओझेलमा परेका बस्तीका नागरिक अहिले सञ्चार सुविधासँग जोडिन थालेका छन् । बिजुली पुगेपछि बालबालिकाको अध्ययन, घरायसी कामकाज तथा साना उद्योग सञ्चालन गर्न सहज भएको स्थानीयवासी बलबहादुर राईले बताए ।

विगतमा विद्युत् नहुँदा बालबालिकाको पढाइदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्ममा समस्या हुने गरेको थियो । अहिले विद्युत् विस्तारपछि विद्युतीय मिलबाट कुटानीपिसानी गर्न सहज भएको छ । यसले परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत गरेको छ ।

विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दा सीमित बजेटबाट पनि नतिजामुखी उपलब्धि हासिल गर्न सकिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पुर्‍याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि आवश्यकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको उनको भनाइ छ ।

विद्युत् सेवा उपलब्ध भएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्नसमेत सहज भएको वडाले जनाएको छ । यसबाट स्थानीय उत्पादन वृद्धि तथा आयआर्जनका गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ग्रामीण बस्तीमा विद्युत् विस्तारले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सञ्चार र उद्यम विकासका नयाँ अवसर सिर्जना गरेको छ । यसले दुर्गम क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।