मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ । दसैँको अवसरमा काठमाडौँस्थित मैतीदेवी मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको आकर्षक सजावट अवलोकन गर्न सर्वसाधारणको भीड लागेको छ।

दसैँको उल्लाससँगै मन्दिर परिसर र आसपासका सडकमा गरिएको विद्युत् सजावटले क्षेत्रलाई थप आकर्षक र रमणीय बनाएको छ। विशेषगरी साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकको माथिल्लो भाग र दायाँबायाँ आकर्षक रूपमा बिजुलीका बत्ती सजाइएको छ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दसैँका बेला विशेष चहलपहल हुने गर्दछ। यस अवसरमा भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्। धार्मिक गतिविधिसँगै आकर्षक सजावटले पनि मन्दिर क्षेत्रमा दसैँको रौनक थपेको छ।