गण्डकीका नेकपा सांसदले दशैँ भत्ता फिर्ता गर्ने

कात्तिक ६, पोखरा ।
गण्डकी प्रदेशसभाका नेकपा सांसदले दसैं भत्ता फिर्ता गर्ने भएका छन् । दसैं भत्ताबापत पाएको एक महिनाको पारिश्रमिक उनीहरुले कोरोना कोषमा जम्मा गर्ने भएका हुन् ।

मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले बुधबार बसेको बैठकले उक्त निर्णय गरेको बताए । मन्त्रिपरिषद्को बैठकले पनि भत्ताको रकम कोरोना कोषमा नै राख्ने निर्णय गरेको उनले बुधबार बिहान समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रदेशसभामा नेकपाका ४० जना सांसद छन् । प्रदेशसभा सचिवालयले यसअघि नै सबै सांसदको दसैं भत्ता खातामा राखिदिएको थियो ।

प्रदेशसभा सदस्यको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सांसदहरुले एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउने व्यवस्था छ ।

यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेसले मंगलबार भत्ता रकम फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेशसभामा कांग्रेसका १५ जना सांसद छन् । प्रतिपक्षी राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सांसदले भने भत्ता रकम फिर्ता गर्ने वा नगर्नेबारे निर्णय गरेका छैनन् ।