कात्तिक ६, काठमाडौं ।
नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद(प्रकाश) पौडेलले १५ बुँदे निर्देशन जारी गरेका छन् । निगममा भइरहेको बेथिति र अराजकता नियन्त्रण गर्न भन्दै उनले यो निर्देशन जारी गरेका हुन् ।
उनले अनुशासनका आधारभूत नियम कडाईका साथ पालना गर्न निर्देशित गरेको बताए । कर्मचारीको कार्यालय प्रवेश र वाहिरिने समय, खाजा समय, हाजिर गरेर अफिस टाइममै अनावश्यक बाहिर निस्कने, पोशाक, परिचयपत्र लगायत विषयमा निर्देशन केन्द्रित छ ।
निगमले तोकेको कार्यालय समय विहान १० बजे सबै कर्मचारी कार्यालय आइपुग्नुपर्ने, यदि कुनै कारणले ढिला भएमा एक महिनामा चार पटकसम्म १५ मिनेटका दरले छुट दिने तर सो हदभन्दा बढी भएमा गयल कायम गर्ने जनाएको छ । निगमका अनुसार खाजा समय ३० मिनेट मात्र कायम गर्दै कार्यालयमा हाजिर गरी बाहिर गएमा अनुशासनहिनताको कार्वाही गर्ने, पोशाक र परिचय पत्र नलगाई कार्यालय आउने कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउने व्यवस्था बनाइएको छ ।
एक महिनामा चार पटक भन्दा वढी हेलचेक्र्याईँ गरेमा कार्यालय प्रवेशमै रोक लगाउन विभागलाई निर्देशन दिने उनले बताए । बिना काम अवेरसम्म बसेर निस्केकै भरमा ओभरटाइम गणना नगर्न र एक घण्टा भन्दा कम समयको ओभरटाइमको गणना नगर्न पनि उनले निर्देशन दिए ।
महिनाको ५ गतेसम्ममा प्रत्येक विभागका विभागीय प्रमुखहरुले मासिक प्रगति विवरण अनिवार्यरुपमा पठाउनु पर्ने, विभागीय प्रमुखहरुले प्रयोग गर्ने सवारी साधन निगमै पार्किङ गर्नुपर्ने, निगमको प्रवक्ता र सहप्रवक्ताले निगमको विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र जानकारी उपलब्ध गराउनु पर्नेछ ।
निगमलाई आर्थिकरुपले सवल बनाउन पहिला संगठनभित्रको आचरण र अनुशासनलाई बलियो बनाउन सुधारको थालनी गरिएको महाप्रवन्धक पौडेलले बताए ।







