मनाङ । मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोहीको शव फेला परेको छ।
ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतोको शव शुक्रबार फेला परेको हो।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए।
करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्कविच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहणका सामग्री फेला परेका थिए।
लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटरको उचाइमा दुवै पर्वतारोहीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।
उनका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ। आवश्यक परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा शव परिवारलाई जिम्मा लगाइनेछ।
गङ्गापूर्ण हिमाल आरोहणमा गएका दुवै जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।






