इजरायलमा आज आमनिर्वाचन,नेतान्याहूको राजनीतिक भविष्य दाउमा

काठमाडौँ– इजरायलमा नयाँ संसद चयनका लागि आज आम निर्वाचन भइरहेको छ। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण र त्यसपछि सुरु भएको क्षेत्रीय युद्धयताको यो पहिलो आम निर्वाचन हो। निर्वाचनमा करिब ७३ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।

यस निर्वाचनलाई वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य र सत्ता कायम राख्ने क्षमताको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।

इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहूले कुल १९ वर्ष सरकारको नेतृत्व गरिसकेका छन्। तर यसपटक उनको लिकुड पार्टी र दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले पूर्वसेनाप्रमुख गादी आइजेनकोट नेतृत्वको प्रतिस्पर्धी गठबन्धनबाट कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ।

नेतान्याहूले चुनावी अभियानका क्रममा युद्धकालीन नेतृत्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उनलाई ट्रम्पको समर्थन रहेको छ भने इरानविरुद्धको युद्धमा पनि अमेरिका इजरायलको पक्षमा उभिएको छ।

इजरायलको १२० सदस्यीय संसदमा सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ। निर्वाचनअघि सार्वजनिक भएका जनमत सर्वेक्षणले कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न कठिन हुने संकेत गरेका छन्। यस्तो अवस्थामा निर्वाचनपछि सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन निर्माण गर्न राजनीतिक रस्साकस्सी हुने अनुमान गरिएको छ।

मतदान समाप्त भएपछि एक्जिट पोल सार्वजनिक हुनेछन्। त्यसपछि प्रारम्भिक तथा आधिकारिक मतपरिणाम सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्नेछ। पूर्ण तथा अन्तिम नतिजा भने नोभेम्बरको पहिलो साताभित्र आउने अपेक्षा गरिएको छ।

यस निर्वाचनको परिणामले इजरायलको आन्तरिक राजनीतिमा मात्रै नभई मध्यपूर्वको शक्ति सन्तुलन, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ।