काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर नगद, सुनचाँदीका गरगहनालगायतका धनमाल चोरी गरेको आरोपमा चार जना भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूले कात्तिक ७ गते कलङ्कीस्थित तासिङडोल मार्गमा रहेको उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा चोरी गरेका थिए। फ्ल्याटमा कोही नभएको मौका पारी ढोकाको ताला फोडेर नगद तथा सुनचाँदीका गरगहनालगायतका धनमाल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
प्रहरीका अनुसार उनीहरूले कात्तिक ६ गते बिहान कलङ्कीको रञ्जित कोलोनीस्थित नीरञ्जन नेपालको घरमा समेत चोरी गरेका थिए। लगातार दुई दिन फरक–फरक घरमा चोरीका घटना भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो।
अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा चारै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुन तथा चाँदीका गरगहना र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।





