काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै टोल शुल्क संकलन सुरु गर्न लागिएको जनाएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनबाट तोकिएको दरमा शुल्क संकलन गरिनेछ ।
आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिरिने सवारीका लागि फरक–फरक शुल्क निर्धारण गरेको छ ।
निर्धारित दरअनुसार वर्ग १ अन्तर्गतका कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनीबस तथा मिनी टिपर–ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
वर्ग ३ अन्तर्गतका सिंगल रियर एक्सल भएका बस तथा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्नेछ ।
नागढुंगा सुरुङमार्गको टोल शुल्क दर
| सवारीसाधनको वर्ग | काठमाडौँ प्रवेश | काठमाडौँबाट प्रस्थान |
|---|---|---|
| वर्ग १ : कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा हलुका सवारी | रु. ६५ | रु. ६० |
| वर्ग २ : मिनीबस, मिनी टिपर–ट्रक | रु. ११५ | रु. ८० |
| वर्ग ३ : बस तथा सिंगल रियर एक्सल ट्रक | रु. २६० | रु. २०० |
| वर्ग ४ : मल्टी एक्सल ट्रक तथा भारी उपकरण |





