नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौं- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो शुल्क लागू गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्कको दर सार्वजनिक गरेको छ।

आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र प्रस्थानका लागि फरक-फरक शुल्क निर्धारण गरेको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

मिनी बस र मिनी टिपर-ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, बस र सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र प्रस्थान शुल्क २०० रुपैयाँ कायम गरिएको छ।

सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक र भारी उपकरणका लागि तोकिएको छ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र प्रस्थान गर्दा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ।