धरान– प्रहरीले भन्सार छली गरी ल्याइएका किराना तथा खाद्यान्न सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ। बरामद गरिएका सामग्रीको मूल्य नौ लाख ८२ हजार रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली गरी ल्याइएका सामान फेला पारेको हो।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिनी ट्रकका चालक विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, सहचालक जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही स्थानका कात्तिक राजवंशीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार बरामद गरिएका सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
कपिलवस्तुमा सात लाखभन्दा बढीका अवैध सामान बरामद
कपिलवस्तु– सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा बेसबाट खटिएको प्रहरी टोलीले सात लाख पाँच हजार ८८० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा लत्ताकपडा, मोटर पार्ट्स, रङ्गोली, किराना सामग्री तथा आतिशबाजीका सामान रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।
प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको उनले बताए।
सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिएको अधिकारीले जानकारी दिए।






