काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्ता दिएका हुन्।
तर, टस भइसके पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छिटपुट वर्षा भइरहेको छ। वर्षाका कारण मैदानको मुख्य पिचलाई त्रिपालले ढाकिएको छ भने आउटफिल्ड खुला नै राखिएको छ।
वर्षा भइरहेकै अवस्थामा अम्पायरहरूले छाता ओढेर टस गराएका थिए। टसपछि दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन्।
वर्षाका कारण खेल सुरु हुने समय प्रभावित हुन सक्ने सम्भावना छ।






