काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको बताएका छन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालले उक्त प्रस्ताव अघि सारेको हो ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको यूआईएएको साधारणसभामा मन्त्री पौडेलले नेपालको प्रस्तावबारे जानकारी गराएका हुन् । उनका अनुसार यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टाछुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरिएको छ ।
प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन् ।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । त्यसैगरी, नेपालमा मात्रै यस्ता हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ । यसबाट विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुने अपेक्षा गरिएको छ ।
नेपाल पर्वतारोहण संघको आतिथ्यमा आयोजित सम्मेलनमा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारणसभा आयोजना गरिसकेको छ ।
मन्त्री पौडेलले प्रस्तावित हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयासले नेपालको पर्वतीय पहिचान थप विस्तार हुनुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
सम्मेलनलाई हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणका साथै जलवायु परिवर्तनका कारण बढ्दै गएको हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण र पर्वतीय समुदायको जीविकोपार्जनका विषयमा अन्तर्राष्ट्रिय बहस अघि बढाउने अवसरका रूपमा समेत हेरिएको छ ।






