चितवन । चाडपर्वको मौसम र जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि गरिएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले होलसेल बजारमा अण्डाको मूल्य बढाएको हो ।
यसअघि कात्तिक ६ गते काठमाडौँमा बसेको बैठकले निर्धारण गरेको मूल्यलाई छ दिनमै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट नयाँ समर्थन मूल्य तोकेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी (कार्टुन) २०० रुपैयाँले बढाइएको छ । त्यस्तै, सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँ वृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार १४.५ देखि १४.८ किलोसम्मको एक्सएल अण्डाको समर्थन मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, १३.५ देखि १३.८ किलोसम्मको ठूलो अण्डाको मूल्य ३ हजार ६०० बाट बढेर ३ हजार ८०० रुपैयाँ कायम भएको छ । १२.५ देखि १२.८ किलोसम्मको मिडियम अण्डाको मूल्य ३ हजार ५०० बाट बढेर ३ हजार ७०० रुपैयाँ पुगेको छ ।
११ किलोभन्दा बढी तौल भएको सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार १०० बाट बढाएर ३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
यद्यपि, अण्डाको फार्म मूल्य बढे पनि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरिएको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार ठूलो अण्डाको खुद्रा मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको मूल्य दुई गोटाको ४५ रुपैयाँ कायम छ ।
चाडपर्वसँगै चिसो मौसम सुरु हुँदा बजारमा अण्डाको खपत बढेकाले होलसेल मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ ।





