जनकपुरधाम – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल तीव्र बनेको छ। तीन दल नयाँ सत्ता समीकरण बनाएर सरकार गठन गर्ने तयारीमा जुटेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनबारे संवाद भइरहेको बताएका छन्। उनका अनुसार चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याउने तयारी छ।
नयाँ सत्ता समीकरणमा सहभागी तीनवटै दलले मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेको छ।
जसपा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीनवटै दलका अध्यक्षबीच प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै सहमति जुटाउने समझदारी भएको छ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा हाल नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्।
त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्। नयाँ सत्ता समीकरण बनेमा मधेस प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना बढेको छ। रासस





