नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे आठ अर्बमाथि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.४५ अङ्कले घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको हो।

परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा कारोबार रकम भने उत्साहजनक देखिएको छ। शुक्रबार ३४८ कम्पनी तथा धितोपत्रका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर ७४ हजार ५४ पटक खरिदबिक्री हुँदा कुल ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। कुल १६९ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा १०२ कम्पनीको मूल्य बढेको छ भने आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समूहगत परिसूचकतर्फ विकास बैंक समूह सबैभन्दा बढी १.६१ प्रतिशतले बढेको छ। बैंकिङसहित आठ समूहका परिसूचक भने घटेका छन्।

शुक्रबार बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ७०९ रुपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य १२.११ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३८ करोड ४८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँ, घलेम्दी हाइड्रोपावरको २७ करोड ९७ लाख रुपैयाँ र ग्रीन भेञ्चर्सको २६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।