७ कात्तिक, काठमाडौं । सार्वजनिक जीवन बिताउनेहरुको दशैं आम नागरिकको चासोमा पर्ने गर्छ । कुन–कुन नेताहरुले दशैं कहाँ र कसरी मनाउँदैछन् भन्ने चाख हुन्छ ।
तर, यसवर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीले हाइप्रोफाइल नेताहरु निवासमै थन्किएका छन् । विगतका वर्षहरुमा निर्वाचन क्षेत्र र घर पुग्ने नेताहरु अधिकांश काठमाडौंमै छन् ।
विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुई÷तीन दिनसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दशैंमा त्यो पनि नहुने भएको छ ।
तथापि, आ–आफ्नै योजना र प्लानहरु छन् ।
सेनाको हर्ष बढाईंमा जाने, अन्त नजाने
विद्यादेवी भण्डारी– राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारी फूलपातीमा नेपाली सेनाले काठमाडौंको टुँडीखेलमा गर्ने हर्षबढाईंमा सरिक हुने तय भएको छ । विगतमा हर्ष बढाईंमा राष्ट्रपतिका साथ साथै प्रधानमन्त्री, प्रध्यानन्याधीश लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागि पनि हुने गर्दथे ।
सेनाको हर्ष बढाईंमा विशेष सावधानी अपनाइने भएका कारण सरिक हुने तय भएको तर, अन्य औपचारिक कार्यक्रममा राष्ट्रपति सरिक नहुने नीति रहेको जनाइएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार गत वर्षहरुमा जस्तो सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम राखिएको छैन् ।
‘आन्तरिक रुपमा टिकाटालो गर्ने त भइहाल्छ’ दाहालले भने, ‘थप जानकारी सहितको जानकारी आज भोलिमै विज्ञप्ति पनि आउँछ ।’
‘टिकाटालो रद्ध’
ज्ञानेन्द्र शाह– पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम रद्ध गरेका छन् ।
शाहले कात्तिक १ गते घटस्थापनाकै दिन विज्ञप्ति निकालेर यसवर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको जानकारी दिएका छन् । यस्तै, यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने कार्यक्रम पनि नहुने विज्ञप्ति उल्लेख छ ।
वालुवाटार बाहिर ननिस्कने
केपी शर्मा ओली– प्रधानमन्त्री एवं (नेकपा) अध्यक्ष
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली यस पटक काठमाडौंमै दशैं मान्ने तयारीमा छन् । विगतका वर्षहरुमा दशैंमा केही दिन गृह जिल्ला झापा र केही दिन काठमाडौंमा बिताउने गरेका ओलीको यसवर्ष काठमाडौं छोड्ने कुनै योजना छैन् ।
‘प्रधानमन्त्री निवास (प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार) मै रहेर दशैं मनाउनुहुन्छ । दशैं अगाडि राष्ट्रको नाममा पनि उहाँको सम्बोधन आउँदैछ’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
वालुवाटार स्रोतका अनुसार टीकाको दिन प्रधानमन्त्री ओलीले बालुवाटारमै आफ्ना बुबाको हातबाट टीका लगाउने छन् । यसवर्ष प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्ताहलाई दशैंको टिका लगाइदिने कार्यक्रम भने छैन् । कारण– कोरोना भाइरसको महामारी ।
प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा रहेका व्यक्ति तथा सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवाटारमा थप स्वास्थ्य सतर्कता अपनाइएको छ ।
परिवारभित्रै टिकाटालो
पुष्पकमल दाहाल ‘प्रचण्ड’–अध्यक्ष, नेकपा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षको दशैंमा काठमाडौंमै हुनेछन् । खुमलटारस्थित निवासमा परिवारसँग मात्रै रहेर प्रचण्डले दशैं मनाउने तयारी गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
‘त्यस्तो खास दशैं विशेष प्लान छैन । उहाँ (प्रचण्ड) घरमै बस्नुहुन्छ । परिवारभित्रै रहनुहुन्छ । टिकाटालो जे जे गरे पनि परिवार भित्रै रहन्छ’ सापकोटाले भने ।
खुमलटार स्रोतका अनुसार पार्टीका बिभिन्न कमिटीहरुको एकीकरणको बाँकी काम सकाउने र पार्टीको आन्तरिद्ध द्धन्द्धलाई मथ्थर पार्ने उपायहरुमा प्रचण्डले दशैंको फूर्सदलो समयलाई उपयोग गर्ने छन् ।
हाल नेकपामा आन्तरिक विवाद छ । विवाद यति बढेको छ कि प्रचण्ड प्रधानमन्त्री निवास वालुवाटार जान समेत हिचकिचाउन थालेका छन् । यहि बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको वालुवाटार आउजाउ केही बाक्लिएको छ ।
‘सरकारको आग्रह मानेर बस्ने’
शेरबहादुर देउवा– सभापति, नेपाली कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो पटकको दशैं काठमाडौंमै मनाउने भएका छन् ।
देउवाले बूढानीलकण्ठस्थित निवासमै दशैं मनाउने तय भएको उनका सहयोगी भानु देउवाले जानकारी दिए ।
‘सरकारको आग्रह मानेर घरमै बस्ने हो । फुर्सदमा पार्टीका साथीभाईहरुसँग फोनमा कुराकानी गर्नुहुन्छ । अरु खास केही छैन्’ भानु देउवाले भने ।
विगतमा देउवाले निवासमै आफन्त, शुभेच्छुक र कार्यकर्तासँग भेटघाट समेत गर्ने गर्दथे । त्यो यसपटक रोकिएको छ ।
‘घरमै बस्छु, अन्त कतै जान्न’
रामचन्द्र पौडेल–वरिष्ठ नेता, कांग्रेस
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको दशैं यसवर्ष घरमै बित्ने भएको छ ।
दशैंमा धार्मिक भ्रमण गर्न चाख लाग्ने भए पनि यसवर्ष कोरोनाका कारण कतै जाने योजना नबनाएको उनले बताए ।
‘घरमै बस्छु । दशैं परिवारमै आपसमा रहेर मनाउने हो । अन्त कतै जान्न’ वरिष्ठ नेता पौडेलले भने ।
‘अस्पतालबाट फर्किर घरमै हुन्छु’
कमल थापा, अध्यक्ष, राप्रपा
राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएर अस्पतालमा छन् । उनलाई ज्वरो आउने जस्ता लक्षण पनि देखिएका छन् ।
तथापि, चिकित्सकले आत्तिनुनपर्ने भनेको र अस्पतालबाट फर्किएर घरमै रहेर दशैं मनाउने योजना रहेको उनले बताएका छन् ।
विगतका वर्षहरुमा थापा टिकाटालोमा व्यस्त हुन्थे ।






