स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा दुई हजार ५७२ जनाको नाम मतदाता सूचीबाट हटाएको छ ।
कार्यालयले गत असोजमा सञ्चालन गरेको अद्यावधिक कार्यक्रमअन्तर्गत मृत्यु भएका एक हजार ३०८ जना र दोहोरो नामावलीमा परेका एक हजार २६४ जनाको नाम हटाएको हो ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार सोही अवधिमा मतदाता नामावलीमा भएका त्रुटि सच्याउन प्राप्त निवेदनका आधारमा ३४५ जनाको विवरण संशोधन गरिएको छ ।
त्यसैगरी, ठेगाना र मतदान केन्द्र फरक परेका ७७२ जनाको निवेदनका आधारमा मतदान केन्द्र परिवर्तन गरिएको उनले जानकारी दिए ।
निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीअनुसार २०८३ भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका स्याङ्जाका मतदाताको सङ्ख्या दुई लाख ४९ हजार ६३ पुगेको छ । तीमध्ये पुरुष एक लाख २३ हजार ११२, महिला एक लाख २५ हजार ९५० र अन्य एक जना रहेका छन् ।
यसअघि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुई लाख ४८ हजार ८१६ मतदाता कायम थिए । पछिल्लो अद्यावधिकपछि अघिल्लो निर्वाचनको तुलनामा २४७ जना मतदाता थपिएको प्रमुख थापाले बताए ।






